नुवाकोटमा बालगृह निर्माणार्थ शीलान्यास

नुवाकोट । भूकम्प प्रभावित बालकहरूका लागि जनजाति कल्याण आश्रम नेपालले सञ्चालन गरिरहेको आमाको माया छात्रावास, नुवाकोटका लागि भवन निर्माण गर्न शीलान्यास गरिएको छ । कार्यक्रमको समुद्घाटनमा दीप प्रज्ज्वलन गरिँदै नुवाकोटको विदुरमा निर्माण गरिने छात्रावास भवनको शीलान्यास एवं भूमि पूजन कार्यक्रम अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल शाखाका अध्यक्ष, लामा श्री फुपु छेम्बे शेर्पा 'थुप्तेन जिग्दोल', सेवा इन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक श्री श्याम पराण्डे, सेवा इन्टरनेशनल यु.एस.ए.का अध्यक्ष श्री एन. श्रीनाथज्यूले संयुक्त रूपमा गर्नुभएको हो । शीलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै यु.एस.ए.बाट पाल्नुभएका प्रमुख अतिथि श्री एन श्रीनाथले निर्माण कार्यमा हाम्रो सहयोग रहेपनि छात्रावासमा बस्ने बाबुहरूको लालन—पालनको जिम्मा स्थानीयवासीको रहने बताउनुभयो । लामा थुप्तेन जिग्दोलले वर्तमान समयमा बालबालिकालाई दिइनुपर्ने शिक्षाका साथै संस्कारको महत्व बुझेर नै जनजाति कल्याण आश्रम नेपाल र हिन्दू स्वयंसेवक संघ नेपाल, सेवा इन्टरनेशनल जस्ता संस्थाले सेवाको माध्यमबाट शिक्षा, स्वास्थ्य, संस्कार, स्थानीय संस्कृतिको जगेर्ना, राष्ट्र प्रेम, जस्ता कुरामा अहम् भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले निर्माण हुने भवनले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा ठूलो योगदान पुग्नेमा आफू आश्वस्त रहेको बताउनुभयो । उहाँले भवान् बुद्धका सम्यक शिक्षाहरू अध्ययन र आत्मसात् गर्दै बालबालिकाहरूले सुन्दर समाजको निर्माणमा ठूलो भूमिका वहन गर्न सक्ने बताउनुभयो । अर्का विशिष्ट अतिथि श्री श्याम पराण्डेले भन्नुभयो, 'छात्रावासमा बस्ने बाबुहरू अनाथ होइनन्, समाज नै यिनका आमा—बुबा र अभिभावक हुन्'। उहाँले स्थानीय आमाहरूलाई आफ्ना नानी—बाबुहरूलाई छात्रावासमा बस्ने बाबुहरूसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन प्रेरित गर्न आग्रह गर्नुभयो । उहाँले संघ र कल्याण आश्रमको माध्यमबाट समाज हितका विषयमा सेवा इन्टरनेशनलले नुवाकोटसँगै दोलखाको चरिकोट, धादिङको धादिङबेंसी, चितवनको लोथर र भरतपुरमा भूकम्प प्रभावित बालबालिकाहरूको लागि छात्रावास भवन निर्माण एवं सञ्चालनमा सहयोग पुर्याइरहेको बारे जानकारी गराउनुभयो । यसअघि हिन्दू स्वयंसेवक संघ नेपाल नुवाकोट जिल्ला संघचालक सोम प्रसाद पाण्डेले सेवा कार्यमा स्थानीयवासी सक्रियतासाथ लाग्न सके बालबालिकाहरूमा समुचित संस्कारको विकास हुने र त्यसले अन्ततोगत्वा समाज र राष्ट्रको विकासमा टेवा पुग्ने बताउनुभयो । समाजसेवी मोहन खड्काले बालगृह निर्माणार्थ सबैले सहयोग गर्नु पर्ने बताउँदै आफ्नातर्फबाट तत्कालै रू. दस हजार सहयोग गर्ने र आउँदादिनमा पनि साथ सहयोग गरिरहने वचन दिनुभयो । कार्यक्रममा बाल संगठन नुवाकोटकी विन्दा अर्यालले यस प्रकारका सेवा प्रकल्पलाई स्थानीय आमाहरूले सहयोग पुर्याउनु पर्नेमा जोर दिनुभयो । पालन मात्र नभएर बालकहरूलाई लालनको पनि आवश्यकता रहने हुनाले त्यसतर्फ ध्यान दिन उहाँले उपस्थित सबैलाई आग्रह गर्नुभयो । जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय संगठन सचिव प्रेम थुलुङले संस्थाको परिचय र स्थानीय संस्कृति जगेर्नाका क्रममा बालगृहको भूमिकाबारे स्पष्ट पार्नुभएको थियो । उहाँले छात्रावास समितिले गरेको हैसेमा होइस्टे थप्न समाजका सबै वर्गका व्यक्तिहरू अघिबढ्नु पर्नेमा जोर दिनुभयो । श्री प्रेम थुलुङ कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका सह राष्ट्रिय प्रचारक रेवित कुमार, कोषाध्यक्ष सुनिल अग्रवाल, जनजाति कल्याण आश्रम नेपालका सह संगठन सचिव भट्ट मिलन, आमाको माया छात्रावास काठमाडौं संभाग समितिका अध्यक्ष श्री स्वाती ​अग्रवालका साथै समितिका पदाधिकारीहरू सुनिल छपोलीया, महेश अग्रवाल, कैलास गोयल, पशुपति शिक्षा प्रसार समिति नेपालका कोषाध्यक्ष प्रदीप गोयल, सेवा इन्टरनेशनल नेपालका महासचिव सुरेश कुमार अग्रवाल, संयोजक विजय मिश्र, नुवाकोटका गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नुवाकोटको विदुर नगरपालीका २ मा निर्माणाधीन चारतले भवनका लागि सेवा इन्टरनेशनलले आर्थिक सहयोग उपलब्ध गराउने तथा हिन्दू स्वयंसेवक संघ नेपालले निर्माण कार्यमा संयोजन गर्ने सोमप्रसाद पाण्डेले बताउनुभयो । उक्त छात्रावास अन्तर्गत भूकम्पका कारण प्रभावित हुन पुगेका ५० जना बालकहरूले आवास, भोजन, स्वास्थ्य, शिक्षा लगायतका आधारभूत सुविधाका साथै कम्प्युटर शिक्षा, सीप विकास जस्ता थप सेवा पनि प्राप्त गर्नेछन् ।